इलाम । पार्टीको टिकट वितरणमा चरम असन्तुष्टि देखिएपछि नेकपा एमालेका जिल्ला नेता समेत बागी उम्मेद्धार बन्ने भएका छन् । इलामको सन्दकपुर गाउँपालिकामा नेकपा एमालेका जिल्ला सचिव उमेश गुरुङ अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्धार बन्ने भएका छन् ।

 

सचिव उमेश गुरुङले आफूलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेद्धार बनेको र पार्टीलाई साधारण सदस्य समेत नरहने गरी राजिनामा पठाएको बताए । यद्धपी राजिनामा पत्र भने सार्वजनिक भएको छैन । उनले आफूलाई कांग्रेस बाहेकका दलहरुको समेत समर्थन रहेको दाबी गरेका छन् ।

 

नेकपा एमालेले सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदमा उदय राईलाई अध्यक्षमा सिफारिस गरेको छ । राईले यसअघिको चुनावमा अध्यक्ष जितेका थिए ।

 

यसैबीच, नेकपा एकिकृत समाजबादीका जिल्ला कार्यालय सचिव मानबहादुर गुरुङले सन्दकपुरमा नेकपा एस लगायतका गठवन्धनले उमेश गुरुङलाई सघाउने निर्णय गरेको जानकारी दिएका छन् । उनले नेकपा एसले वडा ५ जमुनामा दुर्इ वडा सदस्य मागेकोमा कांग्रेसले पहल नगरेकाले सन्दकपुर गाउँपालिकामा गठवन्धन धरापमा परको दाबाी गरे ।

 

उनले सन्दकपुर गाउँपालिकाको नयाँ समिकरणले जिल्लाकै गठवन्धन धरापमा पर्न सक्ने दाबी गरेका छन् । जिल्ला स्तरमा सत्तारुढ दलको गठवन्धन प्रमुख उप प्रमुखमा सहमति भए पनि वडास्तरमा तालमेल हुन सकेको छैन ।