झापा । जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत झापा बिर्तामोड निवासी प्रहरी सहायक हवल्दार खगेन्द्र श्रेष्ठ मृत अबस्थामा फेला परेका छन् ।

 

कुम्मायक गाउँपालिका वडा नं. १ स्थित ओर्दिनमा हिजो उनी मृत अबस्थामा फेला परेका थिए । जिल्ला प्रहरी कार्यलय पाँचथरका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार त्रिशाली मेलाको थप सुरक्षाका लागि प्रहरी सहायक हवल्दार श्रेष्ठ यासोक गएका थिए । तर, उनी यासोक पुगेपछि बैशाख ३ गते बेलुकादेखि हराएका थिए ।

 

खोजतलास गर्नेक्रममा उनले बोकेको मोबाइल शव भेटिएको नजिकै फेला परेपछि थप खोजविन गरिएको थियो । मोबाइल फेला परेपछि उनी ओर्दिनमा मृत अबस्थामा भेटिएका हुन् । मृत अबस्थामा भेटिएका श्रेष्ठको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

आइतबार दिँउसो बाटो नजिकै मोबाइल सेट फेला पारेपछि स्थानीयले आसपासमा हेर्दा प्रहरीको बर्दी लगाएका व्यक्तिको शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए । ड्युटी समयमै यासोक बजारबाट हराएका उनको खोजी भइरहेको थियो ।

 

यसअघि श्रेष्ठको शव हो कि होइन भन्ने विषयमा पाँचथर प्रहरीले परिवारको सहयोग लिनुपर्ने बताएको थियो । शव सड्ने अवस्थामा पुगिसकेकाले सहायक हवल्दार श्रेष्ठकै शव भन्न नसकिने पाँचथर प्रहरी प्रमुख राकेश थापाले बताएका थिए ।

 

मृतक नेवा देय दवू बिर्तामोड वडा नम्बर ९ समिति अध्यक्ष रत्नबहादुर श्रेष्ठको छोरा भएको स्थानीय यज्ञ श्रेष्ठले जनाएका छन् ।