झापा । बिहीबार रातिदेखिको वर्षाका कारण जिल्लाका मतदान केन्द्र प्रभावित बनेका छन् । मतदान सुरु हुनैलाग्दा पानीले समस्या पर्ने देखिएको छ । केही मतदानस्थलमा पानी जमेका कारण प्रभावित हुने देखिएको हो ।
मतदान केन्द्रहरूमा रहेको खुला भवन, ट्रष्ट, बरण्डा लगायतका स्थल प्रयोगमा ल्याएको छ। त्यसलाई झन् व्यवस्थित बनाउने हरेक केन्द्रहरूमा त्रिपाल लगाइएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ। तर, केही मतदान केन्द्रहरूमा त्रिपालले पनि पानी थेग्न नसक्ने देखिएको छ।
राजमार्ग दक्षिणका प्रायःजसो मतदान केन्द्रमा पानी जमेका कारण केही ढिलोगरी मतदान सुरु भएको छ । निरन्तरको वर्षाले गौरीगञ्ज गाउँपालिकाको खजुरगाछी मतदान केन्द्रमा अस्वभाविक पानी जमेको छ ।
यसैबीच, प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलले मौसम पूर्वानुमान बमोजिम नै जिल्लाका मतदान केन्द्र व्यवस्थित बनाएको दाबी गरेका छन् । ‘पानी त परिरहेको छ, तर अहिलेसम्म कुनै मतदान केन्द्रमा समस्या आएको छैन,’ उनले भने, ‘लगातार पानी परिरहे मतदान केन्द्र पुग्ने मतदातालाई केही समस्या हुन सक्छ।’
निर्वाचन आयोगले मतदान गर्ने दिन पानी पर्ने सम्भावना रहेकाले त्यही अनुसारको तयारी गर्न जिल्ला निर्वाचन कार्यालयहरूलाई सूचना जारी गरेका थिए।
त्यसै अनुसार निर्वाचन कार्यालय झापा र मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका २८६ मतदान स्थलका ७५५ मतदान केन्द्रहरूमा पानीबाट मतपेटिका र मतपत्र जोगाउन मतदान अधिकृतहरूलाई जानकारी गराएका थिए।