अर्जुनधारा । २३औं विश्व कछुवा दिवसको सन्दर्भमा उभयचर एवम् सरिसृप विज्ञ प्राध्यापक डाक्टर कालुराम राई (केआर खम्बू)को अनुसन्धानात्मक कृति “मेरो अनुसन्धान यात्रा”को अंग्रेजी संस्करण ‘खम्बूज वे क्रसरोड्स इन न्यू ल्याण्डस’को सोमबार एक समारोहकाबीच लोकार्पण गरिएको छ ।
समारोहका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर यादव कोइराला र अर्जुनधारा ९ स्थित सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष देवराज घिमिरेले संयुक्तरुपमा उक्त कृतिको लोकार्पण गरेका हुन् । कृतिकार खम्बूले करिब ८ वर्षअघि लेखेको मेरो अनुसन्धानको यात्रा पुस्तकको प्रकाशन प्रतिष्ठान र उभयचर तथा सरिसृप संरक्षण समाज नेपालले गरेको हो ।
आफ्ना भनाइ राख्दै प्राडा कोइरालाले पुस्तकमा विज्ञान, अनुसन्धान, साहित्य र संस्मरण समेटिएको उल्लेख गरे । आफूले पुस्तक अध्ययन नगरेको तर पुस्तकको नाम (अंग्रेजी)बाट स्पष्ट हुन चाहेको बताए । चौबाटोमा खम्बूको नयाँ भूगोलको खोजी शीर्षकबाट आफू प्रष्टिएको उनको भनाइ थियो । उनले झापाको अर्जुनधारामा कछुवा उद्दार तथा संरक्षण केन्द्रको स्थापना स्थानीय सरकारले गौरव गर्नुपर्ने विषय रहेको पनि उल्लेख गरे ।
लेखक डा. खम्बूले सबैलाई धन्यवाद दिँदै प्राडा कोइरालाको भनाइलाई समर्थन जनाए । उनले यो सोचबाट पुस्तकको शीर्षकलाई अहिलेसम्म हेर्न नसकिएको बताउँदै मौन समर्थन जनाए । तर, पुस्तकको शीर्षक विदेशी अनुसन्धानकर्ताहरुबाट नै भएको पनि उनले स्पष्ट पारे ।
खम्बूज वास्तवमा आफ्नो नाम, उपनामसँग सम्बन्धित नभएर खोज, अनुसन्धानका क्रममा कटारीदेखि खम्बू क्षेत्रसम्म पुगेको लेखमा भएकाले ५ जना विज्ञहरुले अंग्रेजीमा उक्त शीर्षक चयन गरिदिएको उल्लेख गरे ।
प्राडा खम्बूले सन् २००० देखि २००३ सम्म देशको पूर्वदेखि पश्चिम भागका विभिन्न क्षेत्रहरुमा रहेका उभयचर र सरिसृपहरुको अवस्थाको अध्ययन अनुसन्धान, पीएचडी गर्ने क्रममा जर्मनीहुँदै बेलायतसम्मको यात्रा संस्मरण कृतिमा समावेश गरिएको आर्को नेपालका प्रतिनिधि एवम् उद्यानमा रहेको कछुवा उद्धार तथा संरक्षण केन्द्रका मुख्य संरक्षणकर्ता तपिलप्रकाश राईले जानकारी दिए ।
५६० पृष्ठ रहेको उक्त कृतिमा चार वटा भागअन्र्तगत २८ वटा लेख उल्लेख गरिएका छन् । कृतिमाथि चार जना विद्वतहरुले चर्चा गरेका थिए । उनीहरुले वैज्ञानिक र साहित्यिक पाटोबाट चर्चा गरेका थिए । नेपाली संस्करण ५०० पृष्ठको रहेको छ ।
चर्चा गर्दै मेची बहुमुखी क्याम्पस भद्रपुरका वातावरण विज्ञान प्रमुख दिवस दाहालले कचनकवलदेखि हिमाली भेगसम्मको अनुसन्धानका क्रममा लेखकको व्यक्तिगत भोगाइ समेटिएकाले कृति जीवन्त रहेको उल्लेख गरे ।
यस्तै, सोही क्याम्पसका सहायक प्रमुख कृष्णप्रसाद भट्टराईले कृति चार भागमा विभाजित भएको भन्दै पूर्वी नेपालको रहनसहन, जातजाति, संस्कार संस्कृति, भूगोल, वातावरण समेटिएको बताए । उनले लेखकको अध्ययन अनुसन्धानका क्रममा भएका दुःख, पीडा पनि समेटिएको भन्दै कृतिले पिएचडी गर्नसक्ने विधार्थीलाई मार्गनिर्देश बन्नसक्ने बताए ।
यस्तै, साहित्य पाटोतर्फ चर्चा गर्दै कञ्चनजंघा अंग्रेजी विधालयका प्रिन्सिपल गुरुभक्त न्यौपानेले लेखकले जीवको मात्र चर्चा नगरेर भूगोल, जनजीवन पनि समेटेको बताए । कछुवा पनि मांसाहारी र शाकाहारी हुने रहेछ भन्ने यसै कृतिबाट जानकारी पाएको पनि उनको भनाइ थियो ।
यसैगरी, साहित्यकार पुण्य खरेलले कृतिको अंग्रेजी संस्करण गौरव गर्न लायक भन्दै विधार्थीले पढ्नैपर्ने रहेको सुनाए । प्रगति गर्न कति मिहेनत गर्नुपर्ने रहेछ, कस्ता कस्ता अप्ठ्याराको सामना गर्दै लागिपर्नु पर्ने रहेछ भन्ने पाठ कृतिबाट सिकिने पनि उनले बताए ।
प्रतिष्ठानका अध्यक्ष देवराज घिमिरेले कृतिबाट अनेकन् जानकारी मिल्ने भए पनि प्रकृति कसरी संरक्षण गर्ने भन्ने पाठ सिक्न जरुरी रहेको बताए । लोपोन्मुख अवस्थामा पुगेका सरिसृप प्रजातिको संरक्षण गर्नुपर्छ भन्ने प्रेरणा कृतिबाट मिल्न सकोस् भन्दै शुभकामना दिएका थिए ।
सुखानी शहीद स्मृति उद्यान व्यवस्थापन समितिका अध्यक्ष टंकनाथ बरालको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न विश्वविद्यालयका स्वयंसेवकहरुलाई प्रशंसा पत्र वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव हर्कराज राईले गरेका थिए ।
उक्त संरक्षण केन्द्रमा लोपोन्मुख अवस्थामा रहेका ८ प्रजातिका ४० वटा कछुवा संरक्षित छन् । त्यहाँ तीन प्रजातिका कछुवाले अण्डा कोरलेको र ठोटरी प्रजातिको कछुवाले बच्चा पनि हुर्काएको संरक्षणकर्ता राईले जानकारी दिए ।