अर्जुनधारा । अपाङ्गता स्वावलम्वन समाज अर्जुनधाराद्वारा शनिबार आयोजित नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरु समक्ष विभिन्न मागसहितको ११बुँदे अनुरोध पत्र हस्तान्तरण गरेको छ ।

 

अर्जुनधारा ७ स्थित सामूहिक उद्धार तथा उपकार संघको सामुदायिक भवनको सभाहलमा आयोजित उक्त कार्यक्रममा समाजका अध्यक्ष खेम रेग्मीले सो अनुरोध पत्र नवनिर्वाचित प्रमुख बलदेवसिंह गोम्देनलाई हस्तान्तरण गरेका थिए ।

 

अनुरोध पत्रमा उल्लेख भएका मागहरुमा अर्जुनधारा नगर कार्यपालिकाको सदस्यमा एक जना अपाङ्गता भएका व्यक्तिलाई मनोनयन गर्नुपर्ने, ‘ग’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई पनि नीतिगत निर्णय गरी सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउनुपर्ने, संस्थाको कार्यालयको लागि वडा कार्यालयमा कोठा उपलब्ध गराउनुपर्ने, प्रशासनिक कार्य सञ्चालन गर्नको लागि एक जना कर्मचारी उपलब्ध गराउनुपर्ने, नगरभित्र रहेका सार्वजनिक भवनहरु अपाङ्गमैत्री बनाइनुपर्ने रहेका छन् ।

 

त्यसैगरी अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क संकलन गर्न बजेट विनियोजन गर्नुपर्ने, शैक्षिक बेरोजगार अपाङ्गता भएका व्यक्तिलाई रोजगारी उपलब्ध गराउनुपर्ने, आगामी आर्थिक वर्षको लागि बजेट विनियोजन गर्दा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने, नगर क्षेत्रभित्र हुने विकास निर्माणका योजनाहरु सञ्चालन गर्न गठन हुने उपभोक्ता समितिमा अपाङ्गता भएका व्यक्तिलाई पनि सहभागी गर्नुपर्ने, सबै वडामा वडा समिति गठन गरी बजेटको व्यवस्थापन गर्नुपर्नेलगायत रहेका छन् ।

 

समाजका अध्यक्ष रेग्मीको अध्यक्षतामा आयोजित कार्यक्रममा नवनिर्वाचित प्रमुख तामाङ, उपप्रमुख खड्गमाया पराजुली, वडाध्यक्षहरु उपेन्द्र बस्नेत, सीताराम भट्टराई, अम्बरबहादुर कटुवाल, गोविन्दप्रसाद खतिवडा, कुमारप्रसाद उप्रेती, भीष्म मिश्र, भूपेन्द्र न्यौपाने र खगेन्द्र इङनामलाई अविर र खदा लगाइएको थियो ।

 

निवर्तमान कार्यपालिका सदस्य रमेश त्रिखत्रीले बधाई गीत प्रस्तुत गरेको कार्यक्रममा नेपाली काँग्रेस नगर उपसभापति चर्तुभूज काफ्लेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । समाजका उपाध्यक्ष हरि चिमरीयाले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रमको सञ्चालन सहसचिव दिपेन्द्र काफ्लेले गरेका थिए ।