मेचीनगर । आम्दा मेची अस्पताल परिसरमा जडान गरिएको अक्सिजन प्लान्ट शनिबार एक कार्यक्रमका बीच सम्बन्धित पक्षलाई हस्तान्तरण गरिएको छ । रोटरी इन्टरनेश्नल डिष्ट्रिक ३२९२ अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टाको अगुवाई तथा रोटरी क्लब अफ मेचीनगरको सहजीकरणमा मेचीनगर नगरपालिका र मेची उद्योग वाणिज्य संघको संयुक्त पहलमा सो अस्पताल परिसरमा अक्सिजन प्लाण्ट स्थापनाको गरिएको हो ।

 

अस्पताल परिसरमा आयोजित ‘अक्सिजन प्लान्ट एट आम्दा मेची अस्पताल ह्यान्डओभर प्रोग्राम’ मार्फत रोटरी काँकरभिट्टाका अध्यक्ष रोहितकुमार बुढाथोकीसहितको टोलीलीले मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीलाई प्लान्ट हस्तान्तरण गरेको थियो । नगरपालिकाले अस्पतालका डाक्टर प्रमुख डा पोषणरमण त्रिपाठीलाई प्लान्टको साँचो हस्तान्तरण गरेको थियो ।

 

मेचीनगर नगरपालिकाको तर्फबाट २५ लाख, मेची उद्योग वाणिज्य संघले १५ लाख, रोटरी क्लब अफ काँकरभिट्टा, बिर्तामोड, मेचीनगर, दमक, बिर्तामोड मिडटाउन, सुरुङ्गा, भद्रपुर तथा रोटरी फाउण्डेशनबाट प्राप्त ३१ लाख १६ हजार २ सय रुपैयाँ गरी कुल ७१ लाख १६ हजार २ सय रुपैयाँको लागतमा प्लान्ट निर्माण गरिएको रोटरी क्लब अफ काँकरभिट्टाका सन् २०२२/२०२३ का अध्यक्ष एवम् आयोजनाका फोकल पर्सन सुजन प्रधानले बताए ।

 

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बुढाथोकी, विशिष्ट अतिथि उपप्रमुख उप्रेती, मेचीनगर नगरपालिका निवर्तमान नगरप्रमुख विमल आचार्य, रोटरी ३२९२ का एजी आमोद आचार्य, मेचीनगर वडा नम्बर १० का वडाध्यक्ष नारायण खनाल, नेकपा एमाले जिल्ला कमिटी सदस्य कृष्ण कनाल, नेकपा एकीकृत समाजवादी पार्टीका झापा उपाध्यक्ष सविता भण्डारी भेट्वाल, नेपाली कांग्रेस मेचीनगर सभापति सुदय पनेरु, राष्ट्रिय प्रजातन्त्र पार्टीका मेचीनगर अध्यक्ष सविना बजर्गाई, मेची उद्योग बाणिज्य संघ मेचीनगरका अध्यक्ष ऋषिराज तिम्सिना, धुलावारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष अजय घिमिरे, आम्दा मेची अस्पतालका प्रमुख डा त्रिपाठी लगायतले बोलेका थिए ।

 

रोटरी काँकरभिट्टाका सचिव उदयकुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा अक्सिजन प्लाण्टका फोकल पर्सन सुजन प्रधानले धन्यवाद ज्ञापन गरेका थिए । रोटरी काँकरभिट्टाका अध्यक्ष बुढाथोकीले कार्यक्रमको अध्यक्षता गर्दै औचित्यमाथि प्रकाशसहित सहभागी सबैलाई स्वागत गरेका थिए ।

 

सम्झौता पत्रमा आम्दा अस्पतालले अक्सिजन प्लाण्ट निर्माणको स्थान र प्राविधिक सहयोग उपलब्ध गराउने भएपछि तात्कालिन मेचीनगरका प्रमुख बिमल आचार्य, उपप्रमुख उप्रेती, तात्कालिन प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा, रोटरी काँकरभिट्टाका अध्यक्ष कृष्णकान्त खनियाँ, रोटरी क्लब अफ मेचीनगरका अध्यक्ष कपिल क्षेत्री, मेची उद्योग वाणिज्य संघका अध्यक्ष तिम्सिना र आम्दा मेची अस्पतालका प्रमुख डा त्रिपाठीले हस्ताक्षर गरेका थिए ।