शनिश्चरे । नगरमा रहेको वडास्तरीय खाद्य पोषण तथा सुरक्षा निर्देशक समितिलाई लक्षित गरी एकदिने अभिमुखिकरण कार्यक्रम झापाको अर्जुनधारामा सम्पन्न भएको छ ।

 

नगर सामाजिक विकास शाखाको आयोजनामा अर्जुनधारा ८ स्थित सामुदायिक भवनको सभाहलमा आयोजित उक्त कार्यक्रमको नगर उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् । मानव पूँजी निर्माणार्थ सहयोग गरी सक्रिय र स्वस्थ नागरिक बनाउने उद्देश्यले अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको शाखाका प्रमुख राजविक्रम खड्काले जानकारी दिए ।

 

जिल्ला स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक एवम् पोषण कार्यक्रमका फोकल पर्सन विश्वनाथ श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा सहभागीहरुलाई पोषण र कुपोषण, पोषणको महत्व, कुपोषण रोकथाम तथा नियन्त्रणका लागि जिम्मेवार निकायहरु, कुपोषणको अवस्था, नेपालका बालबालिका तथा प्रजनन् उमेरका महिलाहरुको खानपिन शैली, पोषणमा लगानी किन, बहुक्षेत्रीय पोषण कार्यक्रम र यसको कार्यान्वयन ढाँचालगायतका विषयमा जानकारी दिइने छ ।

 

शाखाले दिएको जानकारी अनुसार उक्त कार्यक्रममा ६० जनाभन्दा बढीको सहभागिता रहेको थियो । नगर उपप्रमुख पराजुलीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको उद्घाटन सत्रमा स्वागत प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन शाखा प्रमुख खड्काले गरेका थिए ।

 

शाखाले सोही प्रकृतिको अभिमुखिकरण कार्यक्रम सोमबार नगरस्तरीय खाद्य पोषण तथा सुरक्षा निर्देशक समितिलाई दिने कार्यसूची रहेको छ ।