काठमाडौँ । चट्याङबाट गएको २४ घण्टामा ७ जनाले ज्यान गुमाएका छन् । ३ जना घाइते भएका हुन् । गृह मन्त्रालयको आपतकालीन कार्य सञ्चालक केन्द्रका अनुसार पर्सा, धादिङ, रुपन्देही, नवलपरासी, बाँके, बाग्लुङ र कैलालीमा चट्याङ् लागेर ७ जनाको मृत्यु र ३ जना घाइते भएका हुन् ।
मनसुनी वर्षासँगै विभिन्न जिल्लाका १३ ठाउँँमा चट्याङ परेकोमा ७ जनाको मृत्यु र ३ जना घाइते भएका हुन् । पर्साको सखुवा प्रसौनी गाउँपालिका १ औराहारेन्ज बस्ने ३२ वर्षीय हरेन्द्रदास थारुको सोही खेतमा काम गर्ने क्रममा चट्याङ लागेर मंगलबार दिउँँसो मृत्यु भएको हो ।
बागलुङ, काठेखोला गाउँपालिका ४ तग्राम फापरखेतका २८ वर्षीया सुस्मा पुनको कोठामै बसिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको छ । चट्याङबाट घाइते पुनको धवलागिरी अस्पताल बागलुङमा उपचारकाक्रममा मृत्यु भएको हो ।
यस्तै धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका २ बेलगाउँँका ४२ वर्षीय लिलामान कुमालको चट्याङबाट गोठमा गाईलाई घाँस हाल्न गएको बेला मृत्यु भएको प्रहरीले जनाएको छ ।
उता बाँके, राप्तीसोनारी गाउँपालिका ३ नारायणपुरका ७ वर्षीय बालकको घरमै खेलिरहेको बेला चट्याङ लागेर घाइते भएकोमा नेपालगञ्ज नर्सिङहोममा उपचारका क्रममा मृत्यु भएको छ । यस्तै, पश्चिम नवलपरासी र कैलालीमा चट्याङबाट दुईजनाको मृत्यु भएको छ ।
नवलपरासीको रामग्राम नगरपालिका १० की ६० वर्षीय एक महिला र कैलालीको कैलाली गाउँपालिका १, रानामुराकी ५६ वर्षीय महिलाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । दुवैजना चट्याङबाट घाइते भएकोमा उपचारका क्रममा मृत्यु भएको थियो । चट्याङबाट आधा दर्जन जिल्ला उच्च जोखिममा छन् ।
२ वर्षअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको अध्ययन अनुसार मकवानपुर जिल्ला चट्याङको सबैभन्दा उच्च जोखिममा रहेको औंल्याइएको थियो । त्यस्तै झापा, मोरङ, उदयपुर, मकवानपुर र चितवन, झापा र मोरङका उत्तर–दक्षिण भूभाग, नारायणी नदीको दुवै तटीय क्षेत्र र चुरे तथा पर्वतका पूर्वदेखि पश्चिमसम्मका भूभागलाई पनि चट्याङ्को उच्च जोखिममा समेटिएको थियो ।
तर, जोखिममा परेका क्षेत्रलाई बस्ती स्थानान्तरण वा चट्याङबाट बच्न अपनाउने उपायबारे सरकारले प्रभावकारी रुपमा पहल गरेको छैन । जोखिम औंल्याइएका क्षेत्रमा बसोबास गर्नेलाई दीर्घकालीन स्थानान्तरणमा पनि सरकारले पहल थालेको छैन । इकान्तिपुरबाट