झापा । वर्षा कम हुन थालेपछि झापाका विभिन्न स्थानबाट विस्थापित भएका बाढी प्रभावित तथा डुबान पीडितहरू घर फर्किन थालेका छन्। बुधबार दिउँसोदेखि वर्षा कम हुन थालेपछि उनीहरु घर फर्किएका हुन् ।

 

नेपाल रेडक्रस सोसाइटी झापा शाखाका अनुसार विस्थापित २८९ मध्ये १७६ परिवार घर फर्किसकेका छन् । धेरैजसो पीडित भने अझै नजिकैको विद्यालय, धर्मशाला र मन्दिरहरुमा आश्रित छन्। आश्रितहरूलाई नेपाल रेडक्रस सोसाइटी र विपद् व्यवस्थापन समितिले विभिन्न राहत वितरण गरेको छ।

 

रेडक्रसले बुधबार गौरीगञ्ज १ का ५० बढी विस्थापित परिवारहरूको लागि ६० थान त्रिपाल र ६० थान हाईजिन किट वितरण गरेको छ । जिल्लास्थित सुरक्षा निकाय, राजनीतिक दल तथा जनप्रतिनिधिहरूको टोलीले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको थियो ।

 

पानीको सतह घटेपछि गौरीगञ्ज १ दास चौरीका १२ परिवार, भद्रपुर ८ सुकुम्बासी बस्तीका २६ परिवार, गौरादह ६ लेलियाका १२५ परिवार, बाह्रदशी २ सुकुम्बासी टोलका १३ परिवार घर फर्किएका हुन् ।

 

त्यस्तै अदुवा खोलाको बाढीका कारण विस्थापित बाह्रदशी २ का ६० परिवारमध्ये ४७ परिवार दक्षिणेश्वर मन्दिर र गौरीगञ्ज १ टुनुबस्तीका १२ परिवार स्थानीय रामजानकी प्राविमा र शिवसताक्षी ४ सुकुम्बासी बस्तीका ३३ परिवार त्रिभुवन माविमा आश्रित छन् भने छिमेकीकामा शरण रहेका गौरीगञ्ज १ भन्सार टोल अधिकारी बस्तीका १५ परिवार घर फर्कन नसकेको रेडक्रस झापाले जनाएको छ ।