झापा । दक्षिणी झापाको कचनकवल गाउँपालिकामा बालुवा तथा माटो निकालेर त्यतिकै छाडेको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा कचनकवल गाउँपालिका ४ स्थित झोडा निवासी भीम लिम्बूका ११ वर्षीय छोरा रेजन लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घरदेखि ५० मिटर पश्चिम चिया बगाननजिकै २० फिटभन्दा गहिरो खनेर बनाइएको पोखरीमा डुबेर उनको मृत्यु भएको हो ।

 

बर्खाले पानी जमेको सोही पोखरीमा नुहाउने क्रममा बालक रेजनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । रेजनसँगै उनकी बहिनी पनि पोखरीमा नुहाउन गएकी थिइन् । दाजु डुबेपछि बहिनीले तत्काल घरछिमेकलाई जानकारी गराएकी थिइन् ।

 

घटनास्थल पुगेका स्थानीयले बालकलाई उद्धार गरे पनि उनको मृत्यु भइसकेको थियो । कानुनी प्रक्रिया पूरा गरी सीमा प्रहरी चौकी केचनाले शवलाई पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाएको छ ।