झापा । मेचीनगर ६ काँकरभिट्टा स्थित मेची पुलबाट प्रहरीले ९ ग्राम ब्राउन सुगरसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । इलाका प्रहरी
कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट संयुक्त खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोरङ पथरीशनिश्चरे नगरपालिका २ का मिलन दर्जी रहेका छन् । उनलाई प्रहरीको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गर्दा मेचीनगर ६ स्थित काँकरभिट्टाको मेची पुलबाटै पक्राउ गरेको हो ।
२२ वर्षीय दर्जीलाई शंका लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट भारतमा उत्पादन हुने चुरोटको बट्टाभित्र प्लाष्टिकमा पोको पारेको अवस्थामा ९ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता एवं डिएसपी वसन्त पाठकले जानकारी दिएका छन् ।