बिर्तामोड । झापा प्रहरीले मोबाइल चोरीका एक आरोपीको साथबाट ८० राउन्ड बन्दुकको गोली बरामद गरेको छ । झापा भद्रपुर ५ का १८ वर्षीय मोहम्मद प्यारेलाई प्रहरीले मोबाइल चोरीको आरोपमा मंगलबार पक्राउ गरेको थियो ।

 

चोरीको मोबाइल खोजतलासका क्रममा उनको साथबाट ८० राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलले जानकारी दिए । गत असार २४ गते राति पुरानो भद्रपुरस्थित राजु अग्रवालको मोबाइल पसलबाट विभिन्न कम्पनीका २९ थान मोबाइल, २ थान घडी र ६१ हजार ५ सय रुपैयाँ नगदसहित करिब ५ लाख १८ हजार मूल्यको सामान चोरी भएको थियो ।

 

आरोपी मोहम्मदलाई सोधपुछ र अनुसन्धान गर्ने क्रममा चोरी भएकामध्ये १ थान मोबाइल, चार्जर २७ थान र उनको घरबाट ८० राउन्ड पेस्तोलको गोली बरामद भएको एसपी पोखरेलले जानकारी दिए ।

 

 

साथै, उनले सटर फुटाउन प्रयोग गरेको रड र पसलको तोडिएको तालासमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।