काँकरभिट्टा । झापाको मेचीनगर नगरपालिका ६ बाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगरसहित इलाम र पाँचथरका युवालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई आज बिहान नेपाल-भारत सिमानाकाबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा फिदिम नगरपालिका ८ का २१ वर्षीय लक्षुमान तामाङ र फाकफोकथुम १ इलामका २७ वर्षीय प्रकाश गुरुङ रहेको प्रहरीले जनाएको छ । तामाङको साथबाट १४ ग्राम ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ ।
सोमबार बिहान इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट चेक जाँचमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा उनीहरु पक्राउ परेका थिए ।
ब्राउन सुगरसहित पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।