बिर्तामोड । झापाको बिर्तामोडस्थित नगर अस्पतालमा युवाहरुको एक समूहले मंगलबार दिउँसो लगाएको ताला प्रहरीले तोडेको छ । सरकारले सामुदायिक र सरकारी अस्पतालमा मात्र स्वास्थ्य बीमा कार्यक्रम लागु गर्ने तयारी गरेपछि युवाहरुको एक समुहले गरेको तालाबन्दी प्रहरीले तोडेको हो ।

 

युवाहरुको समुहले लगाएको ताला आधा घण्टापछि नै प्रहरीले तोडेर अस्पतालको सेवा सुचारु गराएको थियो । युवाहरुले लगाएको ताला प्रहरीले तोडेर सेवा सुचारु भएको थियो । तालाबन्दीका कारण अस्पतालमा उपचार गर्ने काम प्रभावित भएको थियो ।

 

दिउँसो साढे २ बजे नारावाजीसहित नगर अस्पताल पुगेका युवाहरुले त्यहाँका प्रमुख डाक्टर फरहान सिद्दिकीलाई सेवा, सुविधाबारे सोधेका थिए । डाक्टर सिद्दिकीले नगर अस्पतालले प्रदान गर्ने सेवा सुबिधाबारे जानकारी गराएपछि उनीहरु तालाबन्दी गरेर फर्किएको बताए ।

 

युवाहरुको समुहले उपचाररत डाक्टरलाई अस्पतालबाट बाहिर निकालेर तालाबन्दी गरेको डाक्टर सिद्दिकीले बताए । ‘१० जना जति बिरामी हुनुहुन्थ्यो, ६ जना हेरेको थिए, सिद्दिकीले भने–‘उहाँहरु आएर बाहिर निस्किने भए निस्किनु नत्र यतिकै तालाबन्दी गर्छौं भनेपछि बिरामी नहेरी निस्कियौ, अनि उहाँहरुले ताला लगाउनु भयो ।’

 

करिब १५० जनाको समुहमा रहेका युवाले ‘गरिब जनताको स्वास्थ्यमा खेलवाड गर्न पाईँदैन, गुणस्तरीय स्वास्थ्य उपचार पाउनु हाम्रो अधिकार हो, लगायतका नारा अंकित प्ले कार्ड बोकेका थिए । उनीहरुले निजी अस्पतालमा गुणस्तरीय सेवा उपलब्ध हुने भन्दै बीमा कार्यक्रम सरकारी र सामुदायिक अस्पतालमा मात्र लागु गर्ने सरकारको तयारी गलत रहेको बताएका थिए ।

 

अस्पतालममा तालाबन्दी गर्न अगुवाई गर्ने बुट्टाबारीका बिक्रम सुब्बाले सरकारले गरिब जनताको स्वास्थ्यमा खेलवाड गर्ने नीति ल्याउन लागेको भन्दै आन्दोलनस्वरुप तालाबन्दी गरिएको बताए । उनले आफूजस्तै सामान्य नागरिकको स्वास्थ्यमा लापरवाही गर्ने किसिमको नीति लागु नगर्न सरकारलाई आग्रहसमेत गरेका छन् ।