काठमाडौँ । निजी मेडिकल कलेज तथा शिक्षण अस्पतालहरुले सरकारका कारण स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्न बाध्य भएको बताएका छन् । नयाँ आर्थिक वर्ष सुरु भएसंगै निजी मेडिकल कलेज तथा अस्पतालहरुले सूचना जारी गर्दैै आफूहरुबाट उपलव्ध हुँदै आएको कार्यक्रम स्थगित गरेको बताएका थिए ।

 

बुधबार राजधानीमा संयुक्त पत्रकार सम्मेलन गरी विराट मेडिकल कलेज तथा काठमाडौँ मेडिकल कलेजका सञ्चालक सुनील शर्मा, विराट मेडिकल कलेजका सञ्चालक डा ज्ञानेन्द्रमानसिंह कार्की र बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले बीमा कार्यक्रम स्थगित हुनुमा दोष सरकारको रहेको बताए ।

 

‘यहाँहरु सबैलाई थाहा छ, सरकारले गत १५ जेठमा प्रस्तुत गरेको बजेट बतव्यको १५१ नम्बर बुँदामा स्वास्थ्य बीमा कार्यक्रम सरकारी र सामुदायिक अस्पतालमा मात्रै सञ्चालन गर्ने भनिएको छ । त्यसपछिको डेढ महिनामा हामीलाई कुनै निर्देशन पनि आएन । हामी आफैँले जानकारी लिन खोज्दा पनि केही भनिएन । त्यसैले हामीले बीमा कार्यक्रम रोकेका हौँ,’ बीएण्डसी अस्पतालका सञ्चालक प्रसाईंले भने । उनले सरकारी अस्पतालले यो कार्यक्रम धान्न नसक्ने भन्दै त्यसको प्रत्यक्ष असर जनतालाई हुने ठोकुवा गरे ।

 

नोवेल मेडिकल कलेजका सञ्चालक शर्माले आफूलाई फाइदा नहुँदा पनि राज्यको कार्यक्रम सञ्चालन गरिदिएको दावी गर्दै निजी क्षेत्र जनता प्रति उत्तरदायी हुँदा राज्य नभएको आरोप लगाए । ‘आम सर्वसाधारणले वीमा कार्यक्रम हामीले रोकेको हो कि भन्ने बुझाइ भएको छ । तर, त्यसो होइन राज्यले नै हामीलाई चलाउन नदिने भनेपछि हामीले सूचना जारी गरेका हौँ । यो कुरा स्पष्ट हुन जरुरी छ,’ उनले भने ।

 

विराट मेडिकल कलेजका सञ्चालक डा कार्कीले पनि राज्यको नीतिअनुसार नै आफूहरुले कार्यक्रम स्थगित गरेको बताए । सञ्चालकहरुले पुरानो बक्यौता रकमको सोधभर्ना गरेर आग्रह गरेमा आफूले सो सेवालाई पुनः निरन्तरता दिन सकिने बताए ।

 

बीएण्डसीले आफूहरुको ५४ करोडभन्दा बढी र नोवेलले ६२ करोडभन्दा बढी रकम बीमा बोर्डमा रोकिएको समेत दावी गरे । उनीहरुले ठूलो रकम रोकिँदा अन्य सेवामा समेत अप्ठ्यारो परेको बताए ।