झापा । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजना मेची पुलमा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा कनकाई नगरपालिका वडा नम्बर ४ बस्ने ३२ वर्षीय सनम श्रेष्ठ र सोही ठाउँका २५ वर्षीय सन्दिप कुमाल रहेका छन् ।

 

शनिबार दिउँसो १ः४५ बजे मेचीनगर ६ स्थित पुरानो मेची पुलमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

 

भारतबाट नेपालतर्फ आउँदै गरेका श्रेष्ठ र कुमाललाई शंका लागेर चेकजाँच गर्दा कुमालको साथबाट ६ ग्राम ब्राउनसुगर फेला परेको थियो । दुवै जनालाई नियन्त्रणमा लिई इप्रका काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।