झापा । झापामा १२ र १५ वर्षीया बालिकाहरु बलात्कृत भएको समाचार सार्वजनिक भएको छ । बालिकालाई बलात्कार गरेको आरोपमा २ जना युवा पक्राउ परेका छन् । प्रहरीका अनुसार १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हल्दीबारी गाउँपालिका २ बस्ने ३० वर्षीय ईन्द्रजीत मण्डललाई सोमबार राति पक्राउ गरेको छ ।
मण्डलले ती बालिकालाई ललाई फकाई पटकपटक बलात्कार गरेको र पीडितको स्वास्थ्य परीक्षण गराउँदा गर्भ समेत रहेको प्रहरीले जनाएको छ । उक्त जाहेरी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी १५ वर्षीया किशोरीलाई बलात्कार गर्ने व्यक्ति पनि पक्राउ परेका छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका १५ बिचारनी टोल बस्ने २८ वर्षीय हरि राजवंशीलाई सोमबार पक्राउ गरेको हो ।
राजवंशीले ती किशोरीलाई पटक पटक बलात्कार गरेको भन्ने जाहेरी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।