झापा । झापाको भद्रपुरमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । झापाको भद्रपुरमा रहेको एक खोल्सीमा माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार आज अपराह्न ४ः३० बजे भद्रपुर ७ घर भई सोही नगरपालिकाको वडा नम्बर ४ स्थित आमडाँगीमा रहेको ईलाम टि–प्रोड्युसर प्रालिको भवन बनाउने कामदार अन्दाजी ४० वर्षीय भोटलाल गणेश राजवंशीको करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको हो ।
निर्माणाधिन भवनको अन्दाजी ३०० मिटर पश्चिममा रहेको खोल्सीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाइते भई उपचारको लागि मेची अस्पताल भद्रपुर लगेकोमा उनलाई डाक्टरले चेक गर्दा मृत घोषणा गरेका थिए । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।