झापा । झापामा फेरि प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा झापा र सप्तरी जिल्लाका छन् ।

 

प्रहरीका अनुसार बाह्रदशी गाउँपालिका ६ बिहीबारे निवासी ३० वर्षीय पूरण राई र सप्तरी बोदे बर्साइन घर भई हाल बिर्तामोड नगरपालिका १ स्थित भगवान चौकमा डेरा गरी बस्ने ३५ वर्षीय नागेन्द्रकुमार यादव रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

उनीहरूलाई मेचीनगर नगरपालिका ६ स्थित काँकडभिट्टाको पुरानो मेची पुलबाट पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

 

उनीहरु सवार प्र.३-०१-०२४ च ८००० नम्बरको गाडीलाई शङ्का लागि चेकजाँच गर्दा उनीहरूको साथबाट २ ग्राम ८०० मिलिग्राम ब्राउन फेला परेको थियो । पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।