झापा । सामाजिक अभियन्ता सञ्जय भुइँमाली र उनका श्रीमती भावना कटुवाल (सिर्जना)ले ब्रेन ट्युमरबाट पीडित गीता तामाङको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । सामाजिक अभियन्ता दम्पत्तिले विभिन्न सामाजिक सञ्जालबाट संकलित ५१ हजार गीता तामाङ बचाउ अभियानलाई हस्तान्तरण गरेका हुन् ।
भुइँमाली दम्पत्तीले भद्रपुर नगरपालिकामा आइतबार दिउँसो एक कार्यक्रमको आयोजना गरी गीताकी दाजु कुमार तामाङलाई सो रकम हस्तान्तरण गरेका हुन् । सो रकम नगरपालिकाका प्रमुख गणेश पोखरेलले प्रदान गरेका थिए । भद्रपुर नगरपालिका ८ सुकुम्वासी टोल निवासी ३३ वर्षीया तामाङको हाल बीएण्डसी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको छ ।
रकम अभावले गीताको उपचार गर्न समस्या भएपछि पीडित पक्षले सहयोगको अपिल गरेका थिए । भुइँमाली दम्पत्तिले पनि आफूहरुले संकलन गरेको रकम गीताको उपचारका लागि उपलब्ध गराएको जानकारी दिए ।
भुइँमाली दम्पत्ति मिर्गौला, ब्रेन ट्युमर, क्यान्सरजस्ता जटिल रोगको उपचारका लागि आर्थिक सहयोग संकलनमा जुटिरहेको छ । यसअघि पनि भुइँमाली दम्पतीले मिर्गौला पीडित भद्रपुर ९ का १३ वर्षीय नवीन श्रेष्ठका परिवारलाई १ लाख ३० हजार ५२५ रुपैयाँ हस्तान्तरण गरेको थियो ।