तेह्रथुम । आफ्नै बाबुलाई फलामको मुस्ली प्रहार गरी हत्या गरी फरार रहेका २४ बर्षीय टंकबहादुर भण्डारी पक्राउ परेका छन् । उनले मंगलबार बाबु ५३ बर्षीय भक्तबहादुर भण्डारीलाई घरायसी बिवाद हुदाँ धान कुट्ने फलामको मुस्लीले टाउकोमा प्रहार गरी सक्त घाइते बनाई फरार भएका थिए ।
घाइते भक्तबहादुरको छथर अस्पताल शुक्रबारेमा उपचारको क्रममा मृत्यु भएको थियो । फरार रहेका टंकबहादुर भण्डारीलाई जिल्लाहरूमा जान सक्ने नाकाहरूमा जिल्ला प्रहरी कार्यालय तेह्रथुम, ईलाका प्रहरी कार्यालय बसन्तपुर लगायत मातहत प्रहरी कार्यालयहरुबाट प्रहरी परिचालन गरी खोजतलास गरिएको थियो ।
यसै क्रममा तेह्रथुम जिल्लाको सदरमुकाम रहेको म्याङलुङ नगरपालिकास्थित पिङ्गुवा खोलाको पुल आसपासको एरियामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनलाई मुलुकी अपराध संहिता, २०७४ अनुसार ज्यान सम्बन्धी कसुरमा तेह्रथुम जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।