भोजपुर । यस जिल्लाको सबैभन्दा अग्लो छाँगे झर्ना ओझेलमा परेको छ। प्रशस्त पर्यटकीय सम्भावना बोकेको यो झर्ना प्रचार-प्रसारको अभावले ओझेलमा परेको हो। प्राकृतिकरूपमा मनोरम रहेको यो झरना १३९ मिटर अग्लो रहेको छ। माथिबाट झरेको पानीको फोहोराले पर्यटकको मन लोभ्याउने गरेको छ।

 

स्थानीयवासीले यसलाई प्रकृतिको सुन्दर उपहारका रूपमा लिने गरेका छन्। षडानन्द नगरपालिका ३ खार्तम्छामा पर्ने यो झर्ना हेर्न आन्तरिक पर्यटक पुग्ने गरेका छन्। देश तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सके राम्रो आम्दानीको स्रोत बन्ने स्थानीयवासीको बुझाइ छ।

 

यो झर्नाको विकासका लागि षडानन्द नगरपालिका तथा प्रदेश नं १ सरकारको लगानीमा त्यहाँ पुग्नका लागि सिँढी बनाएर बाटो निर्माण गरिरहेको छ। भौगोलिकरूपमा विकट ठाउँमा यो झर्ना रहेकाले मानिसको उपस्थिति कम हुने गरेको छ। यहाँ भदौरे पूर्णिमा र वैशाख पूर्णिमा गरी दुईपटक मेला लाग्ने भए पनि अन्य समयमा पनि झर्ना हेर्न तथा त्यहाँ रहेका धामको दर्शन गर्न मानिस पुग्ने गरेका छन्।

 

झर्नास्थलमा खानेपानीको व्यवस्थासँगै पानी आउँदा बस्नका लागि फलैचाहरूसमेत निर्माण गरिएको स्थानीयवासीको भनाइ छ। झर्ना आसपासमा बस्न तथा खानका लागि उचित प्रबन्ध नहुँदा समस्या हुने गरेको छ। सुन्दरताको चिनारी बनाएको धार्मिकरूपमा समेत महत्वपूर्ण रहेको स्थानीयवासीको भनाइ छ। यहाँ रहेको छाँगे धाममा दर्शन गरेमा चिताएको काम पूरा हुने तथा रोगव्यादी निको हुने जनविश्वास रहेको छ।

 

यसलाई संरक्षण गर्दै प्रचार-प्रसार गर्न सके यहाँ आएका पर्यटकलाई खान बस्न दिएर नै जीवनयापन गर्ने सक्ने अवस्था बन्छ। यसको विकासमा राज्यले ध्यान दिन आवश्यक छ।

 

यसैबीच, छाँगे झर्नालाई विकास तथा विस्तार गरेर यहाँको आम्दानीको स्रोतको रूपमा स्थापित गराउने उद्देश्य रहेको षडानन्द नगरपालिकाले जनाएको छ। यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर नगरपालिकासँगै केन्द्र तथा प्रदेश सरकारबाट बजेट माग गर्ने षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले बताए। यो पाँचवर्षे कार्यकालमा नमूनायोग्य पर्यटकीय तथा धार्मिकस्थल बनाउने गरी पहल गर्ने उदासले जानकारी दिए।

 

यो झर्ना संरक्षणका लागि यसअघि षडानन्द नगरपालिकाले १० लाख र प्रदेश नं १ सरकारले ५० लाख लगानी गरिसकेको वडा नं ३ का वडाध्यक्ष साङ्देम्बा राईले बताए। यो स्थानमा साल्पा पोखरी र पखुवा भञ्याङ पनि रहेकाले त्यहाँ पुग्न नसक्ने मानिस दर्शनका लागि आउने गरेको वडाध्यक्ष राईले जानकारी दिए।

 

झर्नासम्म बस्तीबाट डेढ घण्टा पैदल हिँडेर पुग्न सकिने उनले जानकारी दिए। यहाँको ढुङ्गामा बुद्धगुरु रिम्पोचेको मूर्तिसमेत कुँदिएको छ। पर्यटकीयसँगै सबै धर्मको आस्थाको केन्द्र रहेकाले यसको विकासमा विषेश ध्यान दिनुपर्ने स्थानीयको माग छ। यसको प्रचार-प्रसार गर्ने हो भने पर्यटक भित्र्याउन कुनै समस्या छैन। यो आफैँमा एक सुन्दर ठाउँ हो।