झापा । प्रहरीले झापा दमकका रोशन सुन्दासलाई कर्तव्य ज्यान मुद्दामा पक्राउ गरेको छ । दमक ५ निवासी ४९ वर्षीय सुन्दासलाई तत्कालिन पुनराबेदन अदालत इलामको आदेशबमोजिम पक्राउ गरिएको हो ।

 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पुनरावेदन अदालत इलामको २०७० असार ३ गतेको फैसलाबमोजिम कर्तब्य ज्यान मुद्धामा फरार रहेका सुन्दासलाई १ वर्ष ६ महिना कैद सजाय तोकिएको थियो । तर, उनी फरार रहेका थिए ।

 

फैसला कार्यन्वयनको लागि जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आज (बिहीबार) पक्राउ गरी फैसला कार्यन्वयनको निमित्त झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराएको झापा प्रहरी प्रवक्ता वसन्त थापाले जानकारी दिए ।

 

उनका अनुसार निज प्रतिवादीलाई कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा चलान गरिएको छ ।