सुनसरी । कोशी नदीमा भीषण बाढी आएपछि हाई अलर्ट जारी गरिएको छ । पानीको ठुलो बहाव वराहक्षेत्रमा देखिएको र कोशीमा बाढीको मात्रा बढ्दै गएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

 

शनिबार दिउँसो १ बजेसम्म पानीको बहाव मापन गर्दा २ लाख १० हजार क्युसेक बहाव रहेको उनले यादवले बताए । बाढीको मात्रा बढ्दै आएपछि सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको कोशीको पूर्वी भागमा तत्कालै प्रभाव नपार्ने उनले बताए ।

 

कोशीको श्रीलंका टापुमा भने जोखिम बढाएको र सो क्षेत्रमा बाढीले असर बढेमा उद्धारका लागि स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मी निरन्तर सम्पर्कमा रहेका छन् । बाढीको जोखिम धेरै रहेको स्थानमा तत्काल उद्धारका लागि संयन्त्र व्यवस्थापन गरिएको उनले बताए ।

 

पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५६ मध्ये ३३ ढोका खोलिएको पनि उनले बताए । सप्तकोसीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । भारतको नियन्त्रणमा रहेको कोसी ब्यारेजका सबै ढोका नखोलेका कारण कोसी गाउँपालिका र बराहक्षेत्र नगरपालिकाको खेती योग्य जमिन र मानव बस्ती डुवानमा परेको छ ।

 

सप्तकोसीमा पानीको बहाव उच्च भएपछि सुनसरी, उदयपुर र सप्तरी प्रशासनले कोसी आसपासका वासिन्दालाई उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।

 

कोशी ब्यारेजले ९ लाख क्युसेक पानीको वहाव धान्न सक्ने बताइए पनि नदीको सतहमा बालुवा थुप्रिएकाले ४ लाख क्युसेक माथिको बहावलाई प्राविधिकहरूले सम्भावित जोखिमको रुपमा लिने गरेका छन् । बराह क्षेत्रमा देखिएको पानी कोशी ब्यारेजको मापनमा आइपुग्दा ५ लाख क्युसेकको हाराहारीमा पुग्नसक्ने अनुमान गरिएको छ ।