इलाम । आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट इलामका अग्रज पत्रकार सटेन्द्र जवेगू पुरस्कृत हुने भएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले स्थापना गरेको पुरस्कारबाट जबेगू पुरस्कृत हुने भएका हुन् ।
फोनिज इलामको सोमबार इलाम सदरमुकाममा बसेको बैठकले सो पुरस्कार जबेगूलाई दिने निर्णय गरेको हो । १० हजार राशिको पुरस्कार फोनिजको २३औं स्थापना दिवसको अवसरमा २७ साउनमा वितरण गरिने फोनिज इलामका अध्यक्ष राम योङहाङले जानकारी दिए ।
विगत दुई दशकदेखि पत्रकारितामा क्रियाशील जवेगू फोनिज इलामका सल्लाहकार हुन् । स्थानीय इलाम पोष्ट दैनिकका सम्पादक र इलाम आवाज साप्ताहिकका प्रकाशक रहेका जवेगूले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य र इलामका अध्यक्ष भएर काम गरिसकेका छन् ।
फोनिज इलामले स्थापना गरेको पुरस्कार पहिलो पटक वितरण गर्न लागेको हो । पुरस्कार व्यवस्थापन गर्नका लागि फोनिज इलामले गतवर्ष आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार कोष स्थापना गरेको थियो । आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार छनौट तथा व्यवस्थापन कार्यविधि, २०७८ तर्जुमा गरी कोष स्थापना गरेको हो ।
पुरस्कार कोषमार्फत बर्सेनि एक जना आदिवासी जनजाति पत्रकारलाई पुरस्कृत गरिने फोनिज इलामले जनाएको छ । फोनिज इलाम शाखाको साधारण सदस्य भइ पत्रकारिताको माध्यमबाट आदिवासी जनजाति एवम् अल्पसंख्यक, लोपोन्मुख आदिवासी जनजातिको व्यक्तिगत र सामुदायिक हक, अधिकार, पहिचानका लागि कलम चलाएका व्यक्तित्वलाई पुरस्कृत गरिने भएको हो ।
यस्तै, मातृभाषा, लिपि, कला, सीप, धर्म, संस्कार र संस्कृति सम्बन्धीको समाचार, फिचर, लेख, आलेख, वहस, पैरवी गरी समग्र आदिवासी जनजातिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने इलामेली आदिवासी जनजाति पत्रकारहरुलाई पुरस्कृत गर्ने गरिने अध्यक्ष योङहाङले बताए ।