बिर्तामोड । बिर्तामोड नगर क्षेत्रभित्र उत्सर्जन हुने फोहोर तत्कालका लागि वडा नम्बर ८ स्थित हर्चनामा रहेको सुरेन्द्र नेपालको निजी जग्गामा व्यवस्थापन गरिने भएको छ । बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महताराको अध्यक्षतामा आज बसेको सर्वदलीय बैठकले नेपालको जग्गामा व्यवस्थित रुपमा खाल्डो खनेर फोहोर व्यवस्थापन गर्ने निर्णय गरेको हो । फोहोर भोलि (सोमबार) देखि नै उठाइने भएको छ ।

 

बैठकले उक्त जग्गामा फोहोर व्यवस्थापनका लागि सबै राजनीतिक दल, स्थानीयवासी तथा सरोकारवालाहरुले आवश्यक सहयोग र समन्वय गर्ने निर्णय गरेको छ । बैठकले फोहोर विर्सजन स्थलमा फोहोर लाने सडक स्तरोन्नती गर्ने, तटवन्धन गर्ने र सडक बत्ती जडानका लागि नगरपालिकाले आवश्यक बजेट विनियोजन गर्न सिफारिस गर्ने समेत निर्णय गरेको छ ।

 

यस्तै वैठकले वडा नम्बर ७ मा रहेको सुन्दर निचाझोडा वन क्षेत्रमा रहेको खाली जग्गमासमेत बृक्षरोपण गरी फोहोर व्यवस्थापन गर्न संभाव्यता अध्ययन गर्न नगरपालिकालाई सिफारिस गर्ने निर्णय गरेको छ ।

 

बैठकले बिर्तामोडको फोहोर व्यवस्थापनको दिगो र प्रभावकारी व्यवस्थापनका लागि नगरपालिकाले उपयुक्त स्थानमा आवश्यक जग्गा खोजी तथा प्राप्ती गर्न र कनकाई अर्जुन बिर्तामोड नविकरणीय उर्जा कम्पनि मार्फत फोहोरबाट उर्जा उत्पादन गर्ने कार्यमा साझेदारी हुने मार्गहरु समेत अगाडि बढाउने निर्णय गरेको छ ।

 

यस्तै बैठकले फोहोरलाई कुहिने र नकुहिने रुपमा बर्गिकरण गर्न सबै घर परिवार तथा व्यवसायिक संस्थाहरुलाई आव्हान गरी वर्गिकरण नभएको फोहोर संकलन नगर्ने कार्ययोजना बनाएर लागु गर्ने, फोहोर संकलन, ढुवानी र विर्सजन गर्ने कार्यमा अवरोध पुर्याउने, क्षति गर्ने जस्ता अराजक क्रियाकलापहरु भए त्यस्ता व्यक्ति तथा समुहहरुलाई स्थानीय प्रशासन मार्फत बल समेत प्रयोग गरि फोहोर व्यवस्थापन गर्ने र फोहोर व्यवस्थापनका लागि नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा गठन भएको समितिमा सबै राजनीतिक दलका प्रमुख वा प्रतिनिधिहरु समेतको प्रतिनिधित्व हुनेगरी पुर्नगठन गर्ने निर्णय गरेको छ ।

 

बिर्तामोडको फोहोर व्यवस्थापनका लागि जग्गाधनीसँग सहमति भइसकेकाले फोहोर भोलि (सोमबार)देखि नै उठाइने तयारी रहेको नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिए ।