शनिश्चरे । झापाको अर्जुनधारामा प्रहरीले फेरि ३ वटा ट्याक्टर पक्राउ गरेको छ । सरकारले निषेध गरे पनि अर्जुनधाराको बिरिङ, नेते, फुलमती र टाङटिङ खोलाबाट नदीजन्य पदार्थको उत्खनन् तथा ओसारपसार गर्ने ट्याक्टर प्रहरीले पक्राउ गरेको हो ।

 

प्रहरीले अवैध नदीजन्य पदार्थ उत्खननमा संलग्न सवारीसाधनलाई नियन्त्रणमा लिएर कार्वाहीका लागि नगरपालिकामा बुझाउने गरे पनि सवारीसाधनले टेरेका छैनन् । यसअघि ६ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको साता दिन नबित्दै प्रहरीले आइतबार फेरि ३ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको हो ।

 

आइतबार साँझ ५ बजे अर्जुनधारा वडा नम्बर ७ फुलमती खोलाबाट मे.१ त ५९०६, मे. १ त ५२९२ नम्बरको ट्रयाक्टर र वडा नं १ को नेते खोलाबाट मे. १ त ४८४० नम्बरको ट्रयाक्टर गरी जम्मा ३ वटा ट्रयाक्टरहरुले अबैध रुपमा ढुङ्गा उत्खनन् गर्दै गरेको अवस्थामा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले फेला पारेको हो ।

 

ती सवारीसाधनलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि अर्जुनधारा नगरपालिकामा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसअघि गत मंगलबार अवैधरूपमा नदीजन्य सामग्री ढुवानी गरिरहेका ६ वटा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

 

अर्जुनधारा नगरपालिका १ स्थित विरिङ नदीबाट अवैध रूपमा नदीजन्य सामग्री उत्खनन् गरी ढुवानी गरिरहेका दुईवटा टिपर र चारवटा ट्रयाक्टर नियन्त्रणमा लिएको थियो । निषेध गरेकै समयमा विरिङ नदीमा बालुवा उत्खनन् गरिरहेको अवस्थामा ती ट्रयाक्टर र टिपरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी बसन्त पाठकले बताए ।

 

सरकारले असार १ गतेबाट भदौ मसान्तसम्म खोला तथा नदीबाट नदीजन्य सामग्री उत्खनन् गर्न प्रतिबन्ध लगाएको छ । तर, अर्जुनधारामा नदीजन्य पदार्थको उत्खनन् जारी छ । प्रहरीले नियन्त्रणमा लिने र नगरपालिकाले एक पटकको १० हजारभन्दा बढी जरिवाना तिराएर छाड्ने गरेको छ ।