उदयपुर । सप्तकोसीले कटान गरी बस्तीतर्फ पसेको बहाव रोक्न बेलका नगरपालिका ८ डुम्रिबोटेमा अस्थायी बाँध निर्माण गरिएको छ । बाढी नियन्त्रणसँगै विस्थापित २४ दिनपछि घर फर्केका छन् । नगरपाकिालको तल्लो तटीय क्षेत्रका बस्तीमा कोसीको भंगालो पसेको थियो ।
बाढीपीडितसमेतको सहयोगमा तत्कालका लागि करिब १ सय २० मिटर लामो बाँध र झन्डै ६ सय मिटर बाटोसमेत निर्माण गरिएको स्थानीयले बताए । बेलका ३ का वडासदस्य फाल्गुनी कार्कीका अनुसार पीडितको आर्थिक सहयोग, श्रमदान र नगरपालिकाले आवश्यक पर्ने उपकरण उपलब्ध गराएर बाँध निर्माण भएको हो । बाँध निर्माणपछि जोखिम कम भएसँगै विस्थापित शनिबारदेखि पूर्णरुपले घर फर्किएको उक्त नगरपालिका उपप्रमुख जीरा राईले बताइन् ।
बाढीले बेलका १, २, ३, ८ र ९ वडाका ३ हजार ७६ घरधुरी प्रभावित भएका थिए । तीमध्ये १ सय ९ घरधुरी बढी जोखिममा थिए । पश्चिम धार कटान गर्दै अघि बढेको सप्तकोसीको बाढीले साउन १८ मा बेलका नगरपालिकाबाहेक सुनसरी बराह क्षेत्रका ६ र ९ वडाका धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरीलगायत बस्ती समेत जोखिममा परेका थिए ।
२०४५ को भूकम्पपछि कोसी विस्तारै धार परिवर्तन गर्दै पूर्वतर्फ लाग्यो । कोसी पूर्व फर्केपछि त्यहाँ २०५१ पछि बस्ती बस्न थाल्यो । अहिले कोसीले धार बदलेर पुरानै ठाउँमा आउँदा बस्ती प्रभावित भएको हो । अहिले प्रभावित भएको क्षेत्रमा बसोबास गरिरहेका अधिकांस अन्यत्रबाट आएका हुन् । इकान्तिपुरबाट