बिर्तामोड । झापाको नारी संचारगृहले प्रदेश १ कै प्रतिष्ठित पुरस्कार घोषणा गरेको छ । ११औं स्थापना दिवसका अवसरमा शनिबार बिर्तामोडमा आयोजित समारोहमा संस्थाकी अध्यक्ष भीमा शिवाकोटीले दुई फरक पुरस्कार घोषणा गरेकी हुन् । १ लाख १ हजार १ सय ११ रुपैयाँ राशिको ‘नारी संचारगृह पत्रकारिता पुरस्कार’ र २५ हजार ५ सय राशिको ‘नारी प्रोत्साहन युवा पत्रकारिता पुरस्कार’ घोषणा गरिएको हो ।

 

दुवै पुरस्कार महिलाका मुद्दामा कलम चलाउने पत्रकारलाई प्रत्येक दुई वर्षमा प्रदान गरिनेछ । ‘दुवै पुरस्कारको पहिलो हकदार झापाका पत्रकार महिलाहरु हुनेछन्’, शिवाकोटीले भनिन्, ‘प्रोत्साहन पुरस्कारमा भने महिला मुद्दामा लेख्ने पुरुष पत्रकारहरुको पनि दाबी रहने छ ।’

 

संचारगृहले पुरस्कार वितरणका लागि २५ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेको छ । कोषको ब्याजबाट आउने रकमबाट पुरस्कार वितरण गरिने जनाइएको छ ।

 

कार्यक्रममा प्रदेशका यातायात तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले विधेयक पारित हुन नसक्दा प्रदेश मिडिया काउन्सिल निर्माणको प्रक्रिया अवरुद्ध बनेको बताए । विधेयकमा पत्रकारिता विषयमा स्नातकोत्तर गर्न चाहने दलित, महिला र अपाङ्गता भएका पत्रकारहरुलाई प्रदेश सरकारले करिब २ लाख रुपैयाँसम्म छात्रवृत्ति प्रदान गर्ने जनाएको थियो ।

 

यसैबीच, बिर्तामोड नगरपालिकामा कार्यरत कर्मचारी कल्पना मैनालीले नारी सञ्चार गृह झापालाई पाँच हजार रुपैयाँ हस्तान्तरण गरेकी हुन् । महिला पत्रकारको सीप तथा क्षमता अभिवृद्धिका लागि नारी सञ्चार गृहले स्थापना गरेको अक्षय कोषमा आफूले सहयोग गरेको मैनालीले बताइन् ।

 

स्थापना दिवसको अवसरमा नारी सञ्चार गृह झापाले मर्यादित पत्रकारिताका लागि भूमिका, सुझाव र प्रतिवद्धता विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश समितिकी उपाध्यक्ष हिमा चेम्जोङ, नारी संचारगृहकी संस्थापक सावित्रा दाहाल, पत्रकार रेजिना गौतम, भूमिका फियाकलगायतले पनि बोलेका थिए ।