सुनसरी । सुनसरी जिल्लाको पूर्वी सीमा बूढीखोला नदी डेढ दशक अघिसम्म इटहरीको मसानघाटले परिचित थियो । खोलाको किनारामा दैनिकजसो मानिस डढाइन्थो । मसानघाटमा जान पनि सबै डराउँथे ।

 

मसानघाट पश्चिम नजिकै वडा नं ४ मा धार्मिक कार्य गर्नका निम्ति श्रीकृष्ण प्रणामी मन्दिर थियो । बूढीखोला छेउमा जताततै फोहोर थियो । खोलामा अनाधिकृत रूपमा ढुंगा, गिट्टी र बालुवा उत्खनन् गरेर बस्ती कटानको उच्च खतरा थियो । त्यही मसानघाट र मन्दिर दुवैको रुप यतिबेला फेरिएको छ । अनि त्यही बूढीखोला किनार अहिले भने जमुना मुक्ति घाटको नामले चिनिएको छ ।

 

बूढीखोलामा १० करोड रुपैयाँभन्दा बढी खर्चेर दाहसंस्कार गर्ने व्यवस्थित घाट र मन्दिर पुनःनिर्माणको काम गरिएको छ । यसको निमार्णसँगै धार्मिक पर्यटकीयस्थलको रूपमा परिचित भएको हो । जसले गर्दा सबै उमेर समूहका व्यक्तिहरू बूढीगङ्गा जमुना मुक्ति घाटमा आउने गरेको स्थानीयले बताएका छन् ।

 

उनीहरू भन्छन्, “पहिला खोलाको छेउमा मनिसहरूलाई जलाउने गरिन्थ्यो, खोलाको किनारमा जलाउँदा बर्खाको समयमा कहिले बाढीले लास बगाउँथ्यो । तर, अहिले यो स्थान पार्कजस्तै भएको छ । यहाँ विभिन्न स्थानबाट घुम्न आउने मानिसको भिड लाग्ने गरेको छ ।”

 

व्यवस्थित आर्यघाट भएकैले गर्दा प्रदेश १ का अन्य स्थानभन्दा बूढी गङ्गाजमुना मुक्तिघाटमै दाहसंस्कारका लागि ल्याउने क्रम बढ्दो छ । विशेषगरी, सुनसरी र मोरङका थुप्रै स्थानका मानिसको मृत्युपछि दाहसंस्कार गर्न बूढी गङ्गाजमुना मुक्ति घाटमा ल्याउने गरेको मुक्ति धाम विकास समितिले जनाएको छ ।

 

बूढीगङ्गा जमुना मुक्तिघाटमा किरियापुत्री भवनको पनि व्यवस्था गरिएको छ भने यहाँ गरिब तथा विपन्न परिवारलाई किरियापुत्री भवनमा बस्ने व्यवस्था मिलाउने गरिएको छ ।