फिदिम । मिक्लाजुङ ३ आरुबोटे विभत्स घटनामा हत्या भएका मृतकहरुको शव उठाउन सुरु गरिएको छ ।

काठमाडौँबाट सिबिआईको विशेष टोली आइपुगे पछि शव उठाउने कार्य सुरु भएको हो । शवलाइ पोष्टमाटको लागी बिपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरान लगिने तयारी गरिएको घटनास्थलमा रहेका पत्रकार सरोज शर्माले जानकारी दिए ।

मिक्लाजुङ ३ आरुबोटेमा गए राती ९ जनाको हत्या भएको थियो । वडा कार्यलय छेउमा सो घटना भएको हो । धनराज शेर्माको ५ जना परिवार र बमबहादुर फियाकको ४ जना परिवारको हत्या भएको हो ।

हत्या गरिएकाहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीय मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, पुर्सिकुमारी फियाक बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।

१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् । उनको प्रहरीको निगरानीमा फिदिममा उपचार भइरहेको छ ।

९ जनाको विभत्स हत्यामा ज्वाइँ र साढुभाइ पर्ने मानबहादुर माखिमकै संलग्नता रहेको हुनसक्ने प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ । ९ जनाको हत्या भएको घटनामा संलग्न रहेको भनी आशंका गरिएका माखिम घरभन्दा झण्डै दुई घण्टाको पैदल दूरीमा पर्ने लिम्बा गाउँमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

उनको शव मिक्लाजुङ ७ लिम्बामा एक रुखमा झुन्डीएको अवस्थामा फेला परेको थियो । उनको शव नजिकै घटनामा प्रयोग गरिएको खुकुरी, दाप, कपडा र झोला पनि रगतमा लत्पतिएको अवस्थामा फेला परेका कारण पनि उनैले घटना गराएको प्रारम्भिक निश्कर्ष निकालिएको हो ।