झापा । कन्काइ नगरपालिका ८ खाडी बस्तीमा आफ्नै घरको पूजा कोठामा झुण्डिएर आत्माहत्या गरेकी भनिएकी मोनालिसा बर्देवाको आत्महत्या नभई हत्या भएको भन्दैं उनकी आमाले जाहेरी दिएकी छन् ।

बैशाख १९ गते बेलुका ५ बजे कन्काई नगरपालिका –८ खाडी बस्तीमा पुजा कोठामा झुण्डिएर आत्महत्या गरेकी भनिएकी मोनालिसा बर्देवाको आत्महत्या नभएर श्रीमान् बिशाल चाहार, सासू कमलादेवी चाहार र नन्द जमुनाको मिलेमतोमा हत्या गरी पुजा कोठामा झुण्डाइएको भन्दै इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा आमा देबिका दासले जाहेरी दिएकी हुन् ।

दासका अनुसार छोरीलाई २०७३ साल फागुन २२ गते दिन ललाईफकाइ कन्काइ ८ का बिशाल चाहारले बिवाह गरेका थिए । देबिकाका अनुसार सासु कमलादेबी र जमुना चाहारले छोरी मोनोलिसासगँ बिना कारण दिनहुँजसो झगडा गर्ने र श्रीमान बिशाल चाहारले दिनहुँजसो मादक पदार्थ र लागुऔषध सेवन गरी घरमा मोनोलिसालाई दैनिक दुव्यवहार गर्ने गरेको बताइन ।

कुटपिट गर्ने र ज्यान मार्ने धम्की दिने र कसैलाई केहि भनिस् भने तेरो नग्न तस्वीर सामाजिक संजालमा हालिदिन्छु भन्दै सामाजिक तथा मानसिक यातना दिने गरेको देविकाले जाहेरीमा उल्लेख गरेकी छन् ।

छोरीको भबिष्य हेरेर ज्वाइँ बिशाल सुध्रिन्छन् भन्दा भन्दै यस्तो अबस्था भयो’, देविकाले भनिन्, ‘छोरी मोनालिसाको पेटमा ८ महिनाको बच्चा समेत रहेको थियो ।’

देबिकाकाअनुसार झुण्डिएको अबस्था हेर्दा घरको पुजा कोठाभित्र रहेको सिलिङ फेनमा रातो रंगको सारीको कपडामा झुण्डिएको अबस्थामा भेटिएको थियो ।

इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रहरी इन्स्पेक्टर सुनिल श्रेष्ठले घटनाबारे अनुसन्धान भइरहेको बताए । माइती पक्षबाट बैशाख ३१ गते प्रहरी कार्यालयमा जाहेरी दर्ता गरिएको छ । जाहेरी दर्ता भएको साता दिन बित्दा पनि प्रहरीले कुनै कानुनी प्रक्रिया सुरु गरेको छैन ।