झापा । झापामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका २ निवासी २१ वर्षीय सुकलाल राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

प्रहरीका अनुसार हल्दिबारी पाराखोपी सडक खण्ड अन्तरगत हल्दिबारी २ स्थित रामलाल चोक नजिकै आइतबार साँझ ६ः१५ बजे मे ५ प २१६१ नम्बरको मोटरसाइकलले मे ६ प ४१०३ नम्बरको मोटरसाइकललाई पछाडिमा ठक्कर दिएको थियो ।

 

दुवै मोटरसाइकल पाराखोपीदेखि हल्दिबारी बजारतर्फ गइरहेका थिए । तीव्र गतिमा रहेको मे ५ प २१६१ नम्बरको मोटरसाइकलको पछाडि सवार राजवंशीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

सो मोटरसाइकलमा दुई जना सवार थिए भने अर्को मोटरसाइकलमा तीन जना सवार थिए । यता हल्दिबारी प्रहरी चौकीले दुवै मोटरसाइकलसहित अन्य चार जनालाई नियन्त्रणमा लिएर घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाइएको छ ।