भद्रपुर । गलगलिया सीमा नाकाबाट लागुऔषध नेपाल भित्राउने कारोबारी सक्रिय रहेको पाइएको छ । सीमा नाकाबाट नेपालतर्फ आउने सवारीसाधन चेकजाँच कडाइ फितलो भएसँगै लागुऔषध भित्राउने कारोबारी सक्रिय बनेको हो ।
यसैक्रममा भारतबाट नेपालतर्फ आइरहेको डब्लुबी ७४ एवाई ३७७७ नम्बरको कारबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले लागुऔषध बरामद गर्दै एक नेपाली नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ३ निवासी ३४ वर्षीय मिराज खान र भारत किशनगञ्ज जिल्ला जोहरीगञ्ज ८ निवासी ३० वर्षीय मोहम्मद कासीद रहेको भारतीय प्रहरीले जनाएको छ । एसएसबीले उनीहरूको साथबाट कोडिन फस्फेट क्लोरफेनिरामाइन १०० एमएलको २१ बोतल सिरप र ९० पिस नाइट्रोजन ट्याब्लेट बरामद गरेको हो ।
कालो रङ्गको कारमा सवार उनीहरू सीमा नाकामा तैनाथ एसएसबीको भातगाँउ चेकपोस्टसम्म आइपुगेका थिए । एसएसबीले कारको चेकजाँच गर्दा कारभित्र कालो रङ्गको ब्यागबाट लागुऔषध बरामद गरेको बताइएको छ । एसएसबीको चेकपोस्टदेखि नेपाल बोर्डर करिब २०० मिटर टाढा छ । सो कारमा ब्राउनसुगर आइरहेको सूचना एसएसबीले पाएका थिए ।
तर, कारबाट अन्य प्रकारका लागुऔषध बरामद भयो । कारमा तीन जना सवार थिए । अर्को व्यक्ति पनि बिर्तामोडकै थिए । उनलाई एसएसबीले छाडिदिएको बताइएको छ । लागु औषधसहित पक्राउ परेका दुवै जनालाई भारतीय प्रहरीले किशनगञ्ज कारागार पठाइसकेको छ ।