झापा । मेचीनगर १५ स्थित कैया टोलीमा १३ वर्षीया किशोरीको शव टिमाइको सानो पुलमुनि भेटिएको छ । स्थानीय एक घरमा डेरा बस्दै आएका पुण्यप्रसाद चौधरीकी छोरी युना चौधरीको शव आज बिहान फेला परेको हो ।
मृतकका बाबु पुण्यप्रसादका अनुसार मंगलबार अपरान्ह ३ बजेदेखि युना हराइरहेकी थिइन् । ज्यामिरगढी माविमा कक्षा ६ मा अध्ययनरत् उनी मंगलबार दिउँसो घर नजिकैको टिमाइ खोलाको नहरतिर गएकी बताइएको छ ।
मृतक मृगी रोगी भएको उनका बाबु पुण्यप्रसादले बताए । उनी हराएपछि मंगलबार नै प्रहरीमा परिवारले खोजीका लागि जानकारी दिएको थियो । घरबाट आधा किलोमिटर दक्षिण टिमाइको सानो पुलमुनि खोलामा घोप्टो परेको अवस्थामा शव फेला परेको छ ।
घटनास्थलमा अहिले नेपाल प्रहरीको टोली आइपुगेको छ । घटनाबारे प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ भने पोस्टमार्टमका लागि पठाउन तयारी गरिएको छ ।