सोलुखुम्बु । सगरमाथा सफाई अभियान २०७६ टोलीले ४ वटा शव आधार शिविरमा झारेको छ ।

विभिन्न समयमा सगरमाथा आरोहण गर्ने क्रममा मृत्यु भएका आरोहीहरुको बेवारिसे शव आधार शिविर झारिएको हो । हिउँले पुरिएको शव हिउँ पग्लिएर बाहिर निस्किएपछि सगरमाथा सफाई अभियान टोलीले आधारशिविरमा झारेको खुम्बुपासाङल्हामु गाउँपालिका अध्यक्ष तथा सगरमाथा सफाई अभियान २०७६ टोलीका संयोजक ङिमदोर्जी शेर्पाले बताए ।

सगरमाथाको माथिल्लो आधारशिविर क्याम्प ३ बाट २ वटा र खुम्बु आइसफलबाट २ वटा गरी ४ वटा शव आधार शिविरमा झारिएको संयोजक शेर्पाले बताए ।

शव धेरै वर्ष पहिलेको भएकाले उनीहरुको पहिचान खुल्न सकेको छैन । शव नेपाली वा विदेशीको भन्ने समेत पहिचान खुल्न सकेको छैन । शवको पहिचान खुलेपछि सम्बन्धित देशको दुतावासमा खबर गरी शव बुझ्न आग्रह गरिने पनि संयोजक शेर्पाले बताए ।

सगरमाथा सफाई अभियान २०७६ मा खुम्बुपासाङल्हामु गाउँपालिका, सगरमाथा प्रदुषण नियन्त्रण समिति, नेपाली सेनाको शम्सेर गुल्म नाम्चे लगायत अन्य संघ संस्थाले संयुक्त रुपमा सगरमाथाको सफाई अभियान चलाएको पनि संयोजक शेर्पाले बताउनुभयो ।

सगरमाथा सरसफाईको क्रममा संकलन फोहोर नेपाली सेनाको हेलिकोप्टरबाट नाम्चे बजारसम्म झारिने छ ।