भद्रपुर । झापाको भद्रपुरमा टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । बालिका साइकलमा सवार थिइन् । मृत्यु हुनेमा भद्रपुर नगरपालिका ७ स्थित मेघाटोल निवासी ११ वर्षीया शिल्पा ऋषिदेव रहेको झापा जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
भद्रपुर ७ स्थित अञ्जनीमोडमा बिहीबार दिउँसो १२ बजे गार्मेन्ट चोकबाट हल्दिबारीतर्फ गइरहेको प्र. १-००१-क-७७ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेकी साइकलयात्री बालिका ऋषिदेवलाई ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटल पुर्याएको र त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी हस्पिटल लगिएको थियो । उनको सोही हस्पिटलमा उपचारको क्रममा दिउँसो साढे ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
टिपर हल्दिबारीको प्रगती इँटाभट्टाको हो । टिपर चालक हल्दिबारी गाउँपालिका २ निवासी २१ वर्षीय जितलाल राजवंशी रहेका छन् । उनको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छैन । टिपर र टिपर चालक राजवंशीलाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको छ ।