झापा । गैर कानुनीरुपमा सखुवा जातको गोलिया काठ ओसारपसार गर्दै गरेको अवस्थामा प्रहरीले २ वटा ट्याक्टर बरामद गरेको छ । आज (शुक्रबार) दिउँसो झापाको मेचीनगर १ बाट गोलिया काठ र ट्याक्टर बरामद गरेको हो ।

 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज दिउँसो २ः३० बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतो र प्रहरी चौकी तिरिङ खोलाबाट खटिएको प्रहरी टोलीले मेचीनगर १ गाडाँगल्लीस्थित पातापुरबाट आउँदै गरेको मे १ त ७८५४ र मे १ त ३७४० नंम्बरको २ वटा ट्याक्टरहरु रोक्ने क्रममा चालकहरु भागेका थिए ।

 

चालक फरार भएपछि शंका लागी चेकजाँच गर्दा अवैधरुपमा ल्याउँदै गरेको सखुवा जातको गोलिया काठ फेला परेकोले नियन्त्रणमा लिइएको जनाइएको छ । मे. १ त ३७४० नम्बरको ट्याक्टर अन्दाजी १० लाख र मे. १ त ७८५४ नम्बरको ट्याक्टरको अन्दाजी ८ लाख मूल्यांकन गरिएको छ ।

 

 

यस्तै, २५० क्युफिट सुखुवाको गोलिया काठको अन्दाजी २ लाख ५० हजारबराबरको गरी २० लाख ५० हजार बराबरको नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि डिभिजन वन कार्यालय चन्द्रगढी झापा बुझाइएको प्रहरीले जनाएको छ।