शनिश्चरे । झापा अर्जुनधाराका मेलमिलापकर्तालाई नगरपालिकाले पुनर्ताजगी तालिम दिन सुरु गरेको छ । नगरअन्तर्गत रहेको न्यायिक समितिको आयोजनामा मेलमिलापकर्ताहरुका लागि शुक्रबारदेखि तीनदिने पुनर्ताजगी तालिम सुरु भएको हो ।

 

मेलमिलापकर्ताहरुलाई स्थानीय सरकार सञ्चालन ऐन् २०७४को दफा ४७को ‘क’, ‘ख’मा समावेश गरिएका विषयहरु तथा मेलामिलाप सम्बन्धी कानुनी व्यवस्थामा भएको परिवर्तनबारे जानकारी दिने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको हो । तालिममा प्रत्येक वडाका मेलमिलापकर्ताहरुले गरिरहेका असल अभ्यासहरुको अनुभव पनि आदान प्रदान गरिने छ ।

 

नगरपालिकामा सूचीकृत ७५ जनासहित ९० जना मेलमिलापकर्ताको सहभागिता रहेको तालिममा सहजकर्ताहरु झापा जिल्ला अदालतका न्यायाधीश डा रमेश रिजाल, प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालकी संगीता थापा र चेतन विष्टले सहजीकरण गर्ने समितिकी कर्मचारी मायाकुमारी ऐरले जानकारी दिइन् ।

 

समितिकी संयोजक एवम् नगर उपप्रमुख खड्गमाया पराजुलीको अध्यक्षतामा आयोजित तालिम उद्घाटन कार्यक्रममा तालिमको औचित्य समितिका सदस्य टुम्मनाथ काफ्लेले र स्वागत सदस्य शर्मिला सुब्बाले गरेका थिए ।