झापा । चार वर्षपछि कतारबाट घर फर्किँदै गरेका बिर्तामोड ७ का राजेन्द्र श्रेष्ठ गाडीमै लुटिएका छन् । बिहीबार राति रात्रि बसमा काठमाडौँबाट घर फर्किँदै गर्दा उनी गाडीमै लुटिएका हुन् ।

 

कतारबाट काठमाडौँ आइपुगेपछि घर फर्किन उनी काठमाडौँ-काँकडभिट्टा चल्ने बा ०३-००१-ख-२०० नम्बरको बिहानी यातायातमा चढेका थिए । स्टाफसँग सँगै खाना खाएका श्रेष्ठले ढल्केवरमा उनीहरूसँगै चिया पनि पिएका थिए । त्यसपछि आफू बेहोस बनेको र गाडीमै आफ्नो दुई तोला सुनको औँठी र ४० हजार पर्ने मोबाइल लुटिएको उनले बताए ।

 

बुट्टाबारीमा उतार्नुपर्नेमा उनलाई गाडीवालाले बिर्तामोडको पश्चिम स्ट्यान्डमा उतारिदिएका थिए । बेहोस अवस्थामै सिटीमा चढाइएका श्रेष्ठलाई आफूहरूले उपचार गरेर घर पुर्‍याएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक विजय कार्कीले बताए ।

 

श्रेष्ठले गाडी स्टाफहरूमाथि इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् । शनिबार बस चालक र कन्डक्टर आए पनि सहचालक नआएकाले सोमबार सबैलाई उपस्थित हुने गरी बोलाइएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।