बिर्तामोड । रेडियो विराटकी प्रवन्ध निर्देशक लीला अनमोल दुर्घटनामा परी घाइते भएकी छन् । आज बिहान ११ः४५ बजे बिर्तामोडको सिटी सेन्टरअगाडिको पूर्वपश्चिम राजमार्गमा भएको दुर्घटनामा पत्रकार अनमोल घाइते भएकी हुन् ।
बिर्तामोड ५ निवासी अनमोल चढेको प्रदेश १-०१-०१५प ९१४० नम्बरको स्कुटीलाई दुईवटा सवारीसाधनले ठक्कर दिएका थिए । एकै दिशा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको युपी ३७ टी ७८१३ नम्बरको भारतीय ट्रक र ना ५ ख ८११९ नम्बरको यात्रुबाहक बसले स्कुटीलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख इन्स्पेक्टर अशोक जवेगुले बताए ।
ट्रकले ठक्कर दिएपछि स्कुटी बससँग ठोक्किएको जनाइएको छ । घाइतेको बीएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । दुर्घटनापछि ट्रक, बस र स्कुटीलाई नियन्त्रणमा लिइएको जवेगुले जानकारी दिए ।