काँकडभिट्टा । मेचीनगरका गुरुङ समुदायले शुक्रबार २६०७औँ तमु ल्होसार पर्व विविध कार्यक्रम गरी मनाएका छन् । तमु ह्युल छोज धिँ गुरुङ राष्ट्रिय परिषद् मेचीनगरले ङाग्युर देछ्छेन छोलिङ गुम्बा मेचीनगर ७ मा आयोजना गरेको कार्यक्रमको उद्घाटन मेचीनगर नगर उपप्रमुख मिना पोखरेल उप्रेती र संविधानसभा सदस्य उषा गुरुङले संयुक्त गरेका थिए ।

 

परिषद्का अध्यक्ष सुभाष गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, संविधानसभा सदस्य उषा गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ मेचीनगर समन्वय परिषद्का अध्यक्ष ओमप्रकाश खापुङ, मेचीनगर वडा नम्बर ७ का वडाध्यक्ष प्रह्लादमणि ओलीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

सचिव होमराज गुरुङले सञ्चालन तथा परिषद्का उपाध्यक्ष प्रकाश गुरुङले स्वागतसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए  । कार्यक्रममा तमु कलाकारले आफ्नो पहिचान र कला झल्किने भेषभुषामा सांस्कृतिक कार्यक्रम गरेका थिए भने तमु समुदायका ज्येष्ठ सदस्य ८० वर्षीय केशरबहादुर गुरुङ र ८९ वर्षीया चन्द्रमाया गुरुङलाई सम्मान गरिएको थियो ।