झापा । इलाम र सुनसरीको दुई अलग अलग ठाउँमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । एक जना २६ महिनाकी नाबालिका रहेकी छन् ।
प्रहरीका अनुसार इलाम नगरपालिका १ स्थित साखेँजुङमा पोखरीमा डुबेर एक नाबालिकाको मृत्यु भएको छ । आइतबार बिहान ८ बजे घरमा खेल्ने क्रममा आफ्नै बारीमा भएको पोखरीमा डुबेर अचेत भएकी हिमाल दाहालकी २६ महिनाकी छोरी हिमान्सी दाहालको मृत्यु भएको हो ।
यस्तै सुनसरीको बराहक्षेत्र नगरपालिका २ स्थित आठअर्डीमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो जंगलबाट दाउरा बोकेर घर आउँदै गर्दा भङ्गालो तर्ने क्रममा अचानक पानीमा डुबेर घाइते भएका २८ वर्षीय नरबहादुर मगरको मृत्यु भएको हो ।
उनको चतरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय चतराले जनाएको छ । दुवै घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।