अर्जुनधारा । दाताहरुको सहयोगमा अर्जुनधारा ७ मा रहेको सिर्जना बाल युवा क्लब हातामा शौचालय निर्माण गरिनुका साथै विद्युत् जडान गरिएको छ । १८ धुर जग्गामा एककोठे भवन निर्माण भए पनि बालबालिकाका लागि शौचालय, पिउने पानी, कुर्सीलगायत अभाव रहेको थियो ।
तर, दाताहरुकै सहयोगमा पिउने पानीका लागि कल जडान गरिएको छ भने दराज, टेबल, कुर्सी पनि खरिद गरिएको क्लबले जनाएको छ । क्लबको अभावका बारेमा जानकारी पाएपछि सञ्चारकर्मी अमित खम्बू जोडिएका थिए । यसैक्रममा सञ्चारकर्मी खम्बूको पहलमा पूर्वाधार निर्माण कार्यक्रम २०७९ अभियान सञ्चालन भएको थियो । अभियानमा दाताहरुले नगद तथा जिन्सी सहयोग गरेको संयोजकसमेत रहेका सञ्चारकर्मी खम्बूले जानकारी दिए ।
अभियानकै क्रममा सञ्चारकर्मी खम्बूको पहलमा १ लाख ८५ हजारबराबरको दाताबाट सहयोग प्राप्त भएपछि क्लबमा भौतिक पूर्वाधार निर्माण भएको हो । अर्जुनधारा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईको प्रमुख आतिथ्यमा बिहीबार आयोजित एक अनौपचारिक कार्यक्रममा हिसाब सार्वजनिक गरिएकाे छ ।
२८ जना दाताहरुको नगद तथा जिन्सी सहयोगमा शौचालय, पिउने पानीका लागि कल, विद्युत् मिटर जडान तथा कुर्सी, टेबल र दराज खरिद गरिएको हिसाब क्लबकी अध्यक्ष तथा अभियानकी सचिव शर्मिला न्यौपानेले सार्वजनिक गरेकी थिइन् ।
कार्यक्रममा बोल्दै प्रप्रअ राईले विकास निर्माणले मात्र नगर समृद्ध नहुने बताउँदै स-साना बालबालिकालाई संस्कार सिकाउनु पनि समृद्ध नगरको संकेत हुने बताइन् । जति पढे पनि, जति कमाए पनि संस्कार नभएको व्यक्तिबाट समाज परिवर्तनको अपेक्षा गर्नु मुर्खता हुने उनको भनाइ थियो ।
क्लबमा आवद्ध बालबालिकाको अतिरिक्त क्रियाकलापमा सहजताका लागि व्यक्तिगत र नगरपालिकाको तर्फबाट पनि सहयोग रहने आश्वासन दिइन् । उनले तत्काल क्लब परिसरको मैदान व्यवस्थापनका लागि आवश्यक पहल गर्ने जानकारी दिइन् ।
क्लबमा आवद्ध बालबालिकाका लागि सातामा एक दिन बालकक्षा सञ्चालन र विद्यालय जाँदै गरेका बालबालिकाका लागि हाजिरीजवाफ गराउँदै आएको अध्यक्ष न्यौपानेले बताइन् ।
क्लबलाई पिउने पानीका लागि कल जडान गरिदिएकी अर्जुनधारा ४ की मिना राईले कार्यक्रममा बालबालिकाका लागि एक-एक थान फुटबल र भलिबल प्रदान गरेकी थिइन् । जिल्ला प्रशासन कार्यालय झापामा २०७३ सालमा दर्ता रहेको यस क्लबमा ५३ जना बालबालिका आवद्ध रहेको क्लबकी अध्यक्ष न्यौपानेले जानकारी दिइन् ।
क्लबको भवनमा अझै पनि रंगरोगनको काम बाँकी रहेको छ । यसैबीच, नगद सहयोग गरेका दाता कमल पोख्रेल, जिन्सी सहयोग गरेका रमेश नेपालले रंगरोगन र भवनभित्र कार्पेटकाे व्यवस्था गरिदिने भएका छन् ।