झापा । झापाको मेचीनगरबाट ठूलो परिमाणमा चाँदीका गरगहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बाहुण्डाँगीका इन्स्पेक्टर विदुर भट्टराईको नेतृत्वमा खटिएको टोलीले महोत्तरी जिल्ला बर्दिबास ३ निवासी ४४ वर्षीय यादवराज घिमिरेलाई चाँदीको गरगहना र कस्तुरीको बिनासहित पक्राउ गरेको हो ।
बिहीबार मध्यराति १२ बजे मेचीनगर नगरपालिका ४ स्थित दशगजा ईलाकाबाट ५०० मिटर पश्चिम बाहुण्डाँगी बजार नजिकैबाट घिमिरेलाई मे ५ प २२०४ को मोटरसाइकलमा काँकडभिट्टातर्फ गइरहेको अवस्थामा शंका लागेर प्रहरीले चेकजाँच गरेको थियो ।
उनको साथबाट भारतबाट अवैधरुपमा नेपाल भित्राइएको चाँदीको गरगहना र कस्तुरीको बिना फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको चाँदीको मूल्य सात लाख, मोटरसाइकलको एक लाख मूल्यांकन तोकेर आवश्यक कारबाहीका लागि सम्बन्धित निकाय बुझाइएको जनाइएको छ ।