काठमाडौं । सरकारले माघ २ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

 

पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको शोकपूर्ण घटनाका कारण माघ २ मा एकदिन सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्री पौडेलले जानकारी दिए ।

 

आइतबार काठमाडौंबाट पोखराका लागी उडेको यति एयर प्रालिको एनवाईटी–६९१, ९एन–एएनसी विमान १० बजेर ५० मिनेटमा पोखरा टावरसँग सम्पर्कपछि दुर्घटना भएको थियो ।

 

पोखरा महानगरपालिका १७ घारिपाटनस्थित सेतीको खोँचबाट ४० जनाको शव निकालिएको प्रहरीले जनाएको छ । विमानमा ६८ यात्रु सवार थिए ।

 

यसैबीच, यति एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न सरकारले ५ सदस्यीय आयोग गठन गरेको छ । दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व सचिव नागेन्द्र घिमिरेको अध्यक्षतामा दुर्घटना जाँच आयोग गठन गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

 

कारण पहिचान गरेर र आगामी दिनमा यस्ता दुर्घटना नदोहोरिने गरी आवश्यक सुझाव सहितको प्रतिवेदन दिन आयोगलाई ४५ दिनको समय तोकिएको मन्त्री पौडेलले बताए ।

 

आयोगको सदस्यहरूमा नेपाली सेनाबाट अवकाश प्राप्त उपरथी दीपकप्रसाद बाँस्तोला र हवाई इन्जिनियर सुनिल थापासहित ५ जना छन् । आयोगको सदस्य सचिवमा संस्कृति मन्त्रालयका सह-सचिव बुद्धिसागर लामिछाने छन् ।