शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका ५ स्थित कञ्चनबारी क्षेत्रमा एक युवकको शव फेला परेको छ । स्थानीय नहरको नजिक खेतबारीमा २५ देखि ३० वर्षको उमेरका युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।

 

दाहिने हातमा एसटी बीपी र पानाको चिन्ह तथा बायाँ हातको पाखुरामा ओमको टाटु खोपेका युवाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । घोप्टो परेको अवस्थामा रातो भेष्ट लगाएका युवकको शव फेला परेको हो । उनको पहिचान हुन सकेको छैन ।

 

कम्मरमाथि रातो भेष्ट लगाएको भए पनि पाइन्टमुनि खुल्ला अवस्था रहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । शनिश्चरे प्रहरी चौकीमा आज (सोमबार) दिउँसो ४ः३० बजे जानकारी आएको थियो ।

 

इलाका प्रहरी कार्यालय बिर्तामोडले घटनास्थलबाट आवश्यक मुचुल्का उठाएर शवको परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ । शवको अवस्था हेर्दा ती युवकको ५ दिनअघि नै मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

 

उक्त युवकको शव अर्जुनधारा ५ स्थित पेय पदार्थको फ्याक्ट्री र काँटी फ्याँक्ट्रीको बीचमा रहेको खेत र पैनीमा रहेको बताइएको छ । उनले मादक पदार्थ सेवन गरेको पनि स्थानीयले अुनमान गरेका छन् ।