झापा । आज विहान विद्युत सर्ट भई आगलागी हुँदा झापा अर्जुनधारा-७ का इन्द्रबहादुर लिम्बूको काठको दुईतले घर पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीका कारण कम्तिमा २४ लाखबराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

 

शनिश्चरे प्रहरी चौकीका अनुसार विहान ५ः३० बजेदेखि सुरु भएको आगलागीबाट प्रारम्भिक रुपमा २३ लाख ९० हजार रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको छ । आगलागीबाट १० लाख बराबरको घर जलेर नष्ट भएको बताइएको छ ।

 

यस्तै, चार लाख ७२ हजार नगद, डेढ तोलाको सुनको औंठी, डेढ तोलाको सुनको सिक्री, दुई लाख बराबरको लत्ताकपडा, चार लाख रुपैयाँबराबरको अन्य सामग्री जलेको बताइएको छ ।

 

आगलागी भएको अनुमानित दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो । आगो निभाउन बिर्तामोड नगरपालिकाको बारुण यन्त्र र पानी ट्याङ्कर, मेचीनगर नगरपालिकाको बारुण यन्त्र, सशस्त्र प्रशरी बल वेस क्याम्प शनिश्चरे, शनिश्चरे प्रहरी चौकी र स्थानीय परिचालित भएका थिए ।सो आगलागीका कारण छिमेकी मुना बाँस्कोटाको घरमा पनि क्षति पुगेको छ ।