झापा । झापाको मेचीनगर नगरपालिका ६ स्थितबाट एयर गन (हतियार)सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत वेस्ट बंगाल सिलिगुडी प्रधाननगरका २० वर्षीय ओम साह, २५ वर्षीय सिद्धार्थ मगर, २० वर्षीय मोहम्बद सुल्तान सुसेन र २० वर्षीय बिटु सरकार रहेका छन् । उनीहरुलाई सोमबार बिहान साढे ११ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुमाथि चेकजाँच गरेको थियो ।

 

चेकजाँचका क्रममा उनीहरुको साथबाट एयर गन २ थान, एयर पेस्तोल १ थान र एयर गनमा प्रयोग हुने छर्रा गोली १७० पिस बरामद गरेको हो । उक्त हतियार र गोलीसहित पक्राउ परेका चारै जनाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।