झापा । झापाको बुद्धशान्ति गाउँपालिकामा प्रहरीले २ जना व्यक्तिलाई प्रतिबन्धित लागुऔषध र ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

 

हिजो (बिहीबार) दिउँसो साढे ४ बजे इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले जिल्ला झापा बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ जुनेली बस्तीका २० वर्षीय सुरज मगर जर्गालाई शंका लागी निजको घरको कोठामा चेकजाँच गर्दा खाटमुनि रहेको कालो रंगको प्लास्टिकमा प्रतिबन्धित लागूऔषध फेला परेको थियो ।

 

प्रहरीका अनुसार प्रतिबन्धित लागुऔषध स्पासपेन ५५ पत्ता, ट्रमाडोल हाइड्रोक्लोराइड ५५ पत्ता फेला परेको थियो । यस्तै, ससानो प्लाष्टिकमा २ ग्राम ६४० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

ब्राउन सुगरसमेत फेला परेपछि पक्राउ परेका मगरलाई सोधपुछ गर्दा बुद्धशान्ति ५ शान्तिनगर का ३८ वर्षीय अमृत श्रेष्ठसमेत सम्लग्न रहेको भनि खुलाएकोले दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं डिएसपी खगेन्द्रप्रसाद रिजालले जनाएका छन् ।